काठमाडौं- राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा उदयपुरको चौदण्डीगढी नगरपालिका अंकविहीन भएको छ। यसअघि सबै खेल हारेको चौदण्डीगढी शुक्रबार लिगको आफ्नो अन्तिम खेलमा पनि नेपाल पुलिस क्लबसँग १०–० ले हारेको हो।
चौदण्डीगढीले १२ खेलमा १०६ गोल खायो भने ४ गोल मात्र गर्न सक्यो। एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसका लागि निरु थापाले ह्याट्रिकसहित चार साथै निर्मला बिकले ह्याट्रिक गोल गरिन्। पुलिसका लागि सुनकला राई र अमृता जैसीले एक–एक गोल गरे भने एक गोल चौदण्डीगढीबाट आत्मघाती भएको थियो।
चौदण्डीगढीविरुद्धको जितसँगै पुलिसले तेस्रो स्थानमा रहेर लिग सकाएको छ। पुलिसको १२ खेलमा १८ अंक रह्यो। लिगको अन्तिम खेलमा विजेता भइसकेको सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच शुक्रबार नै दशरथ रंगशालामा खेल हुँदैछ। अहिले एपिएफको ११ खेलमा ३३ अंक साथै आर्मीको ११ खेलमा २६ अंक रहेको छ।
लिगमा चौंथो स्थानमा रहेको वालिङको १२ खेलमा १७ अंक, विराटनगरको १२ खेलमा १६ अंक, चन्द्रपुरको १२ खेलमा ९ अंक रह्यो। गएको बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेपछि अंक दूरी राम्रो बनाउँदै एपिएफ विजेता पक्का भएको थियो। शुक्रबार आर्मीसँगको खेलपछि एपिएफले ट्रफी उचाल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।