झापा- गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई बिहीबार झापामा सम्मान गरेको छ। पूर्वउपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उनलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरे।
तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा रबर खेती सम्भव भएको निचोड निकालेका थिए। त्यही आधारमा झापा र गोरखा जिल्लामा पहिलोपल्ट २०४८ सालमा रबर खेती शुरु गरिएको थियो। हाल झापा, मोरङ र सुनसरी जिल्लामा दशौँ हजार हेक्टर भूमिमा रबर खेती गरिएको छ। झापामा रबर खेती शुरु गर्दा अनुसन्धाता भण्डारीले किसानलाई यसको बारेमा प्राविधिक सीप सिकाएका थिए।
फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्दै रबर खेतीको विकासमा सघाउने योजना अघि सारेको छ। फाउन्डेसनका अध्यक्ष कोइरालाले झापामा रबर खेतीको सम्भावना देखेर पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पहिलोपल्ट रबर विकास बोर्ड गठन गरेको बताए। स्थानीय किसानलाई रबर खेतीमा आकर्षित गरेर आर्थिकस्तर उकास्न फाउन्डेसनले कार्यक्रम ल्याएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।