धनगढी- बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आफूले गरेको कबोल गरेका उनकै विद्यालयमा अध्ययनरत दिनेश भट्टले हत्या गर्नुअघि बलात्कार गरेकोसमेत स्वीकार गरेका छन्। बिहीबार सरकारी वकिलको उपस्थितिमा प्रहरीले लिएको बयानमा भट्टले आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन्।
यसअघि भागरथीको हत्या गरेको कबोल गरेका उनले बलात्कार भने नगरेको बताएका थिए। प्रहरी हिरासतमा रहेका दिनेशले सरकारी वकिलको समेत उपस्थितिमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूले लिएको बयानमा आफूले बलात्कार गरेको स्वीकार गरेका हुन्।
'दिनेशका बुबालाई समेत सँगै राखेर बयान लिँदा उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले दिनेशलाई उद्धृत गर्दै भने, 'पहिले बलात्कार गरेको हुँ, पछि सबैले थाहा पाउने डरले घाँटी थिचेर उनलाई मारें।'
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार आफ्नो बुबाका सामु बयान दिनेक्रममा दिनेशले आफूबाट ठूलो गल्ती भएको बताएका थिए।
भागरथीको शवको पोस्टमार्टम र प्रारम्भिक परीक्षणका क्रममा चिकित्सकले दिएको रिपोर्टका आधारमा प्रहरीले उनको बलात्कार भएको जनाएको थियो।
यसअघि दिनेशले दिएको बयानकै आधारमा प्रहरीले घटनास्थलबाट भागरथीले लगाएको घडी बरामद गरेको थियो।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी गत माघ २१ गते बुधबार विद्यालयबाट घर फर्केकी थिइनन्। भोलिपल्ट साँझ विद्यालय जाने बाटो नजिकै उनको शव बिभत्स अवस्थामा फेला परेको थियो। भागरथीको हत्या गरेको भन्दै प्रहरीले बुधबार दिनेशलाई सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।