काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित् कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवन शिलान्यास गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरे।
कागेश्वरी नगरपालिका–५, थलीमा पुनर्निर्माण हुन लागेको नमुना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुन लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो। भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
शिलान्यासपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमुना भवन बन्न लागेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमुना हुने विश्वास व्यक्त गरे।
ज्ञवालीले भने, ‘सामुदायिक विद्यालयहरुमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर वृद्धि मात्र होइन शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ।’
भारतीय राजदूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमुना हुने विश्वास व्यक्त गरिन्।
शिलान्यास कार्यक्रममा संविधान सभा सदस्य दीपक कुईंकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा समेत उपस्थित थिए।
फर्निचर तथा प्रयोगशाला सुविधासहित पुनर्निर्माण हुन लागेको पाँचतले नमुना विद्यालयमा कुल ६० वटा कोठा हुनेछन्। त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि ५ वटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठवटा कोठा र विद्यालयको आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने थप आठवटा कोठा रहनेछन्।
विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन्। निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिवद्धता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।