काठमाडौं– ५१ वर्षको उमेरमा सोमबार निधन भएका नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान मणि शाहलाई अन्तिम श्रद्धाञ्जलि दिइएको छ। अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ९ बजेबाट शाहको पार्थिव शरिरलाई दशरथ रंगशालामा राखिएको थियो।
पूर्वकप्तान शाहलाई श्रद्धाञ्जलि दिँदै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले उनको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए। शाहलाई श्रद्धाञ्जलि दिन रंगशालामा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा तथा अन्य पदाधिकारी, राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक तथा फुटबलप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो।

उपचारका क्रममा शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा सोमबार अपरान्ह निधन भएको थियो। केही वर्षयता कलेजोको समस्याले ग्रस्त शाहलाई गत शनिबार ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। लगत्तै स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार भएको थियो। कलेजो फेल भएका कारण उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
शाहले सन् १९८५ को दोस्रो दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका थिए। त्यतिबेला उनको उमेर १७ वर्ष मात्र थियो। उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजित एसियाडमा देशको झन्डा बोक्दै इतिहास रचेका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन्।
उनले नेपाली फुटबलमा थुप्रै सम्झनलायक खेल खेलेका छन्। सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र स्वर्ण फुटबलबाट प्राप्त भएको थियो। त्यतिबेला नेपाललाई स्वर्ण दिलाउन शाहकै भूमिका निर्णायक थियो। भारतविरुद्ध फाइनलमा खेल सकिन ३० सेकेन्ड बाँकी रहँदा पाएको फ्रि–किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए।

उनको ‘ट्रेडमार्क’ बनेको बायाँ खुट्टाको फ्रि–किक गोलपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अन्ततः नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४–३ गोलअन्तरले जित हात पारेको थियो। पेनाल्टीमा पनि उनले महत्वपूर्ण गोल गरेका थिए।
फर्ममा रहेकै अवस्थामा उनले सन् १९९७ मा फुटबलबाट संन्यास लिएका थिए।
असीको दशक, जतिबेला अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोना चर्चामा थिए, त्यही बेला उनको जस्तै शैली भएका कारण शाहलाई ‘नेपाली म्याराडोना’ भन्ने गरिन्छ। म्याराडोनाको जस्तै उचाइ, लामो र कर्ली परेको कपाल, देब्रे खुट्टाले प्रहार गर्नसक्ने र १० नम्बर जर्सी पहिरिएर मैदान उत्रने शाह र म्याराडोनाका समानता हुन्।
शाहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।