काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एसिया इन्भाइरोमेन्टल अवार्ड पाएको छ।
वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाएको भन्दै संयुक्त राष्ट्र संघ वातावरणीय कार्यक्रमले सन् २०२० को एसिया इन्भाइरोमेन्टल अवार्डतर्फको प्रभाव पुरस्कार सिआइबीलाई दिएको हो।
सिआइबीका प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारीले यो पुरस्कार पाएका हुन्। पन्थी र जोहारीले कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न सफल भएका थिए।

तामाङ भारतबाट नेपाल हुँदै तिब्बतमा आखेटोपहार तस्करी गर्ने गिरोका नाइके थिए। तामाङकै समूहले आखेटोपहार तिब्बत लैजाँदै गरेको बेला २०६२ सालमा ५ थान बाघको छाला, ३६ थान चितुवाको छाला, २३८ थान विभिन्न जंगली जीवजन्तुका छाला र ११३ किलो हड्डी बरामद भएको थियो।
त्यसपछि तामाङका समूहका अन्य सदस्य पक्राउ परे पनि उनी भने फरार भएका थिए। उनै तामाङलाई पन्थी र जोहारीले गत असारमा बौद्धबाट पक्राउ गरेका थिए। उनीहरुविरुद्ध रेड नोटिस समेत जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।