भागरथी हत्याका अभियुक्त सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा डिआइजी सुवेदीलगायत। तस्बिर : ललित बोहरा
बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका किशोर दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ।
मंगलबार राति घरबाटै पक्राउ गरिएका दिनेशले हत्या स्वीकार गरेपछि बुधबार जिल्ला प्रहरी कार्यालय बैतडमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसहितका प्रहरी अधिकारीले पत्रकार सम्मलेन गरेर घटनाबारे जानकारी गराउँदै अभियुक्तलाई सार्वजनिक गरेको हो।

सुरुवातदेखि नै निगरानीमा रहेका दिनेश मंगलबार राति प्रहरी बयानमा हत्या गरेको स्वीकार गरेको र उनले भनेबमोजिमको घटना विवरण मिलेको सुवेदीले बताएका छन्।
दिनेश नै अभियुक्त पुष्टि हुने कारण प्रष्ट पार्दै डिआइजी सुवेदीले भने, ‘घटनास्थल जाँच, मुचुल्का, आरोपितको घटनास्थलमा उपस्थित, मोबाइल लोकेसन, अन्य टेक्निकल पाटो, प्रत्यक्षदर्शी, आरोपितका गतिविधि, पीडित पक्षको भनाइलगायतको आधारमा नै दिनेश अभियुक्त हुने बलियो प्रमाण हुन्।’
यिनै प्रमाणको आधारमा दिनेशविरुद्धको आरोप पुष्टि हुनेमा आफू ढुक्क रहेको सुवेदीले बताए। हालसम्मको अनुसन्धानले बलात्कार र हत्या प्रकरणमा एक जनाको मात्रै संलग्न रहेको देखिएको सुवेदीको भनाइ छ।
आरोपितले पनि आफू एक्लैले घटना गराएको र घटनाको अवस्था हेर्दा पनि एकै जनाबाट बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष रहेको सुवेदीले बताए।
डिआइजी सुवेदीले आफू मातहतकै जिल्ला कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार र हत्या घटना पनि एक महिनाभित्र टुंगोमा पुर्याउने हिसाबले काम भइरहेको बताए।
‘अहिलेसम्म हाम्रो 'अर्जुनदृष्टि' भागरथीको घटनामा मात्रै केन्द्रित थियो,’ डिआइजी सुवेदीले भने, ‘अबको एक महिनाभित्र 'निर्मला काण्ड' पनि सल्टाउने हिसाबले काम भएको छ।’
गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो। शव फेला परेको १३ दिनपछि प्रहरीले हत्याका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आफन्तले शव बुझेका छैनन्। दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका आफन्तले बताउँदै आएका छन्।
भागरथीको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।