काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन्। मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन्।
'यसका लागि मन्त्रालयले तयारी गरिसकेको छ,' मन्त्री श्रेष्ठले भने। शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्नेसमेत उनले बताएका थिए।
आगामी दिनमा एचआइभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठको भनाइ छ।
'समाजमा चेतनाको कमीले एचआइभी संक्रमितले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था छ। उनीहरुको कदर र सम्मान हुनुपर्छ,' उनले भने।
सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ। मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एचआइभी शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।