काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौंथो स्थानमा र वेस्ट हाम पाँचौँ स्थानमा उक्लिँदा लिभरपुल छैठौँ स्थानमा पुगेको छ। सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यासललाई २–० ले हरायो। वेस्टहामले सेफिल्ड युनाइटेडलाई ३–० ले हराएको हो।
चेल्सीको जितमा जिरउडले खेलको ३१औँ मिनेटमा साथै वेर्नरले ३९औँ मिनेटमा गोल गरे। खेलमा ६६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको चेल्सीले १८ सट प्रहार गर्दा ६ सट पोस्टको दिशामा थियो।
यस्तै, सेफिल्ड युनाइटेडलाई ३–० ले हराएको खेलमा वेस्ट हामका लागि खेलको ४१औँ मिनेटमा रिसले पेनाल्टीमार्फत गोल गरे। डिओपले ५८औँ मिनेटमा साथै फेडेरिक्सले अतिरिक्त समयमा गोल गरे। सेफिल्डले बलमा नियन्त्रण बनाएर वेस्ट हामलाई दबाब दिइरहे पनि गोलमा बढ्न भने सकेन।
जितसँगै चौथो स्थानमा उक्लिएको चेल्सीको २४ खेलमा ४२ अंक भएको छ। पाँचौँ स्थानमा उक्लिएको वेस्टहामको २४ खेलमा ४२ अंक नै छ। यसअघि चौंथो स्थानमा रहेको लिभरपुल छैठौँ स्थानमा झरेको छ। लिभरपुलको २४ खेलमा ४० अंक छ। लिभरपुल भन्दा तल रहेका इभर्टनको २२ खेलमा ३७ साथै एस्टन भिलाको २२ खेलमा ३६ अंक रहेको छ।
लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ खेलमा ५३ अंक छ। दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४६ साथै तेस्रोमा रहेको लेस्टर सिटीको पनि समान २४ खेलमा ४६ अंक नै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।