काठमाडौं- मोरङको विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलमा जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ। सोमबार भएको खेलमा विराटनगरले स्याङ्जाको वालिङ नगरपालिकालाई १-० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विराटनगरले कठिन जित निकालेको हो। विराटनगरको जितमा आशा कुमारीले गोल गरिन्। खेलेको ३५औं मिनेटमा गोल गर्दै आशाले विराटनगरलाई १-० गोलको अग्रता दिलाइन्। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको विराटनगरले दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
विराटनगरले अब जारी लिगमा एक मात्र खेल खेल्न बाँकी छ। विराटनगरले अब आफ्नो अन्तिम खेल फागनु ५ गते विभागीय टिम एपिएफ क्लबसँग खेल्नेछ। विराटनगरको मुख्य लक्ष्य नै शीर्ष तीनमा पर्ने हो।
विराटनगर वालिङलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। ११ खेलबाट पाँच खेलमा जित, पाँच खेलमा हार र एक खेलमा बराबरी खेलेको विराटनगरको १६ अंक छ। पराजित वालिङ भने चौथो स्थानमा छ। वालिङको ११ खेलबाट १४ अंक छ।
पाँचौं स्थानमा रहेको नेपाल पुलिस क्लबको पनि १४ अंक नै छ। लिगको शीर्ष स्थानमा भने एपिएफ छ। १० खेलबाट शतप्रतिशत जित निकालेको एपिएफको ३० अंक छ। दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको १० खेलबाट २५ अंक छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।