काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको छ। जितसँगै शीर्ष स्थानको एपिएफले लिग विजेता बन्ने बाटो बलियो बनाएको छ। पाँच अंकले अघि रहेको एपिएफले अब विराटनगर र आर्मी क्लबसँग खेल्न बाँकी छ।
सोमबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसकी खिम कुमारी गुरुङले खेलको ६९औँ मिनेटमा आत्मघाती गोल गर्न पुग्दा एपिएफले अग्रता पाएको थियो। खेलको ७५औँ मिनेटमा अमृता जैशीको गोलमा पुलिसले बराबरी गरेको थियो। तर ८६औँ मिनेटमा रबिना गोलेको गोलले एपिएफ विजयी भयो।
प्रतियोगितामा एपिएफको १० खेलमा ३० अंक रहेको छ। दोस्रो स्थानमा रहेको आर्मीको १० खेलमा २५ अंक र तेस्रो स्थानमा रहेको वालिङको १० खेलमा १४ अंक रहेको छ। चौथो स्थानको पुलिस क्लबको पनि समान १४ अंक नै छ। विराटनगरको १३ र चन्द्रपुरको ६ अंक रहेको छ भने चौदण्डीगढीले कुनै अंक जोड्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।