काठमाडौं– साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम रियलको जितमा करिम बेन्जिमा र टोनी क्रुसले गोल गरे। खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। खेलको ४२ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाए। पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
स्पेनिस ला लिगा फुटबलमै भएका अन्य खेलमा रियल सोसिडाडले गेटाफेलाई १–० र ओसासुनाले लेभान्टेलाई १–० गोलले नै हराएको छ। रियल बेटिसले भने भिल्लारियललाई २–१ गोलले पराजित गरेको छ।
जितसँगै रियल मड्रिड बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ। रियलले २३ खेलबाट ४९ अंक बनाएको छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २२ खेलबाट ४६ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २१ खेलबाट ५४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।