काठमाडौं- काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राई रहेको प्रहरीले जनाएको छ।
भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पित्तसहित फेला पारी पक्राउ गरेको हो।
बरामद भालुको पित्त अवैध रूपमा बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
यसैबीच काठमाडौँको टोखा नगरपालिका–१० डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका–२ का ३८ वर्षीय चिजकुमार गुरुङलाई २२२ ग्राम लागुऔषध एम्फेटामाइन र एक थान लागुऔषध तौल गर्ने डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले टोखा नगरपालिकामा उनको साथबाट १० ग्राम र अनुसन्धानको क्रममा उनकै कोठाबाट थप २१२ ग्राम लागुऔषध फेला पारेको ब्यूरोले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।