काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-१ ले हराएको छ। आर्मीका लागि रश्मी घिसिङले ४, विमला चौधरीले २ गोल गरे। चन्द्रपुरकी रजनी थोकरले एक गोल गरिन्।
जितसँगै आर्मीको १० खेलमा २५ अंक भएको छ। शीर्ष स्थानमा रहेको एपिएफको ९ खेलमा २७ अंक रहेको छ। अन्त्यतिर पुगेको लिगमा एपिएफलाई रोक्न मुस्किल देखिए पनि आर्मीले प्रतिस्पर्धा दिइरहेको छ।
चन्द्रपुरविरुद्ध रश्मीले खेलको १०औं मिनेटमा नै गोल गरेकी थिइन्। २२औं र ५०औं मिनेटको गोलले ह्याट्रिक पूरा गरेकी उनले ६१औं मिनेटमा चौंथो गोल गरिन्। विमलाले खेलको २३औं र ५६औं मिनेटमा गोल गरेकी हुन्। चन्द्रपुरकी रजनीले पहिलो हाफको अन्त्यमा एक गोल गरेकी थिइन्।
आर्मीले अब नेपाल पुलिस क्लब र एपिएफसँग खेल्न बाँकी रहेको छ। चन्द्रपुरले भने चौदण्डीगढी र वालिङसँग खेल्न बाँकी छ। शीर्षमा रहेको एपिएफले नेपाल पुलिस क्लब, विराटनगर र आर्मीसँग खेल्न बाँकी रहेको छ।
लिगमा तेस्रो स्थानमा रहेको वालिङको १० खेलमा १४, नेपाल पुलिस क्लबको ९ खेलमा १४, विराटनगरको १० खेलमा १३, चन्द्रपुरको १० खेलमा ६ साथै चौदण्डीगढीले भने कुनै पनि अंक जोड्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।