काठमाडौं– डिफेन्डिङ च्याम्पियन युभेन्टस इटालियन सिरी ए फुटबलमा नापोलीसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा युभेन्टस नापोलीसँग १–० गोलले हारेको हो।
घरेलु टिम नापोलीको जितमा लोरेन्जो इन्सिग्नेले गोल गरे। खेलको ३१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीबाट गोल गर्दै नापोलीलाई १–० गोलको अग्रता दिलाए।
अमिर राहामानीलाई युभेन्टसका जर्जियो चिलिनीले डिबक्सभित्र लडाएपछि नापोलीले पेनाल्टी पाएको थियो। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको नापोलीले दोस्रो हाफमा पनि युभेन्टसलाई रोक्दै जित निकालेको हो।
अन्य खेलमा शीर्ष स्थानको एसी मिलानले पनि जित निकालेको छ। एसी मिलानले स्पेजियालाई २–० गोलअन्तरले हराएको हो। त्यस्तै, टोरिनो र जिनोयाले भने गोलरहित बराबरी खेलेका छन्।
जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको एसी मिलानको २२ खेलबाट ४९ अंक छ। दोस्रो स्थानको इन्टर मिलानको २१ खेलबाट ४७ अंक हुँदा पराजित युभेन्टस भने २१ खेलबाट ४२ अंक बनाउँदै लिगको तेस्रो स्थानमा छ। युभेन्टसलाई पराजित गरेको नापोली भने २१ खेलबाट ४० अंक बनाउँदै लिगको चौथो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।