काठमाडौं- उपाधि दौडमा रहेको एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले ग्रानाडालाई २-१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम ग्रानाडाले दोस्रो हाफमा एथ्लेटिको मड्रिडलाई रोक्न नसक्दा हार व्यहोरेको हो। पहिलो हाफसम्म बराबरी खेलेको एथ्लेटिको मड्रिडका लागि मार्कोस लोरेन्टेले खेलको ६३ औं मिनेटमा गोल गर्दै १–० गोलको अग्रता दिलाए। तर त्यसको तीन मिनेटपछि नै ग्रानाडाका एन्जल हेरिराले गोल गर्दै १–१ गोलको बराबरी दिलाए। ७५ औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–१ गोलको जित दिलाए।
शनिबार राति नै भएका अन्य खेलमा भने सेभियाले हुएस्कालाई १–० गोलले पराजित गर्दा इबार र भालाडोलिडले भने १–१ गोलको बराबरी खेलेका छन्।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले जितसँगै २१ खेलबाट ५४ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनासँग आठ अंकको अग्रता बनाएको छ। पराजित ग्रानाडाको भने २३ खेलबाट ३० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।