काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनकाओले समान २–२ गोल गरे। त्यस्तै, जुनियर फिर्पोले एक गोल थपे। आलाभेसका लागि लुइस रिओजाले एक गोल फर्काए। खेलको २९ औं मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै बार्सिलोनालाई १–० गोलको अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए।
खेलको ५७ औं मिनेटमा लुइसले गोल गर्दै आलाभेसलाई २–१ को स्थितिमा ल्याए। तर ७४ औं मिनेटमा फ्रान्सिस्कोले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रतालाई ३–१ मा पुर्याए। त्यसको एक मिनेटपछि नै मेस्सीले दोस्रो गोल गर्दै टिमलाई ४–१ को अग्रता दिलाए। ८० औं मिनेटमा जुनियर फिर्पोले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलको जित दिलाए।
यो जितसँगै बार्सिलोना डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २२ खेलबाट ४६ अंक बनाएको छ। पराजित आलाभेसको २३ खेलबाट २२ अंक छ। तेस्रो स्थानमा झरेको रियल मड्रिडको भने २२ खेलबाट ४६ अंक नै छ। २१ खेलबाट ५४ अंक बनाएको एथ्लेटिको मड्रिड भने लिगको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।