काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ। शनिबार राति भएको खेलमा लिभरपुल लेस्टर सिटीसँग ३–१ गोलअन्तरले पराजित भएको हो।
लेस्टरले आफ्नै मैदानमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो। लेस्टरका लागि जेम्स म्याडिसन, जेमी भार्डी र हार्भे बर्नेसले गोल गरे। लिभरपुलका लागि भने मोहम्मद सलाहले गोल गरेका थिए। पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। तर खेलको ६७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए। लिभरपुलले यही आफ्नो अग्रतालाई जोगाउन सकेन।
लेस्टरले उत्कृष्ट पुनरागमन गर्दै एक गोलको बदला तीन गोल गर्न सफल भयो। खेलको ७८ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरी दिलाए। ८१ औं मिनेटमा भार्डीले गोल गर्दा लेस्टरले २–१ गोलको अग्रता बनायो। ८५ औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरलाई ३–१ गोलको जित दिलाए। ६२ प्रतिशत बल नियन्त्रणमा राखेपनि लिभरपुलले खेल लेस्टरलाई सुम्पियो।
यो जितसँगै लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरले २४ खेलबाट ४६ अंक बनाउँदा म्यानचेस्टर युनाइटेड लिगको तेस्रो स्थानमा झरेको छ। म्यानचेस्टर युनाइटेडको २३ खेलबाट ४५ अंक छ। चौथो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ४० अंक छ। यो हारसँगै लिभरपुलको उपाधि दौड यात्रा निकै कठिन भएको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग मात्रै १३ अंकले पछि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।