कैलाली- नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानवापत पाएको रकम सहयोग गरेका छन्। उनले जसको नामबाट पाएको पुरस्कार हो‚ उनकै परिवारलाई हस्तान्तरण गरेका हुन्।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो साधारण सभाबाट सिंहलाई जेपी जोशी स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित गरिएको थियो।
उक्त सम्मानसँगै पाएको १२ हजार नगद उनले जेपी जोशीको घरमै पुगेर पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउलेमार्फत परिवारलाई हस्तान्तरण गरेका छन्।
रकम हस्तान्तरण तथा जोशीको परिवारिक अवस्था बुझ्न पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउले, सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाह र पत्रकार प्रकाश सिंह घर पुगेका थिए।
जेपी जोशी २०६५ असोज २२ गते बेपत्ता भएका थिए भने सोही साल मंसिर १३ गते मालाखेती जंगलमा उनको शव भेटिएको थियो। जोशीकी श्रीमती बसन्ती जोशी, छोरीहरु पुजा र गीता रहेका छन्। पुजा कक्षा १० मा र गीता कक्षा ६ मा अध्ययनरत छिन्।
जेपी जोशीका नाममा स्थापना भएको पत्रकारिता पुरस्कारले उनको परिवारलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको पत्रकार सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।