काठमाडौं- नेपाली कांग्रेसले भागरथी हत्याका दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन माग गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।
भागरथीको हत्या भएको दोस्रो साता पुग्दासमेत पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नु परेको भन्दै कांग्रेसले घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ। 'अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध बढ्नु गम्भीर चिन्ताको विषय बनेको कांग्रेसले बताएको छ।
'निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन्,' कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ।'
यसैबीच भागरथी हत्याको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेस गर्न एवं स्थानीयवासी तथा परिवारजनसँग भेट गर्न कांग्रेस नेता रमेश लेखक बैतडी पुगेका छन्।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव गत बिहीबार दिउँसो लवलेक जंगलमा फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।