काठमाडौं- विभागीय टिम नेपाल पुलिस क्लबले जारी राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। शुक्रबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३-० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरविरुद्ध पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो।
खेलको सातौं मिनेटमा नै सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। उनकै गोलमा पुलिसले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो। खेलको ५४ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाइन्। खेल सकिन ५ मिनेट बाँकी रहँदा रेखा पौडेलले गोल गर्दै पुलिसलाई ३-० गोलको जित दिलाइन्।
जितसँगै चौथो स्थानमा रहेको पुलिसको १४ अंक भएको छ। पुलिसले ९ खेलबाट १४ अंक बनाएको छ। तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाको पनि ९ खेलबाट १४ अंक नै छ। तर हेड टु हेडमा पुलिस पछि परेको हो। छैटौं स्थानमा रहेको चन्द्रपुरको भने ९ खेलबाट ६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।