काठमाडौं- सरकारी, सार्वजनिक एवम् गुठी जग्गा संरक्षण संघर्ष समितिले देशभरका गुठीका जग्गा संरक्षण गर्न माग गरेका छन्। संघर्ष समितिले शुक्रबार काठमाडौंको शान्ति वाटिकामा कार्यक्रम गरी सबै किसिमका गुठीका जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको हो।
ललिता निवास बालुवाटारलगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाएको संघर्ष समितिले सो हस्ताक्षर सम्बन्धित मन्त्रालयमा बुझाउने भएको हो।
समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरीको धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याएर सो जग्गा अपचलन गर्ने उपर कारबाही गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको हो।
त्यसैगरी, धोबीखोला बगेको साविक महानगर २५ (क) कित्ता नं. ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएकाले उक्त निर्णय खारेज गरी सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारबाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको संघर्ष समितिका महासचिव युवराज कोइरालाले जानकारी दिए।
संघर्ष समितिले माघ २३ गतेदेखि शुरु गरेको हस्ताक्षर अभियान शुक्रबार शान्तिवाटिकामा कोणसभा गरी समापन गरेको छ। हस्ताक्षर सम्बन्धित मन्त्रालय तथा निकायहरूमा पुर्याइने संघर्ष समितिका महासचिव कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।