हेटौंडा- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ। गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा सात करोड तीन लाख ७६ हजार रुपैयाँको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ।
स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निर्माण हुनेगरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो। पार्क निर्माणका लागि प्रथम चरणअन्तर्गत बागमती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको चालु आव २०७७/७८ को स्वीकृत कार्यक्रमअन्तर्गत निर्देशनालयको १० लाख, गाउँपालिकाको १० लाख तथा स्थानीयवासीको दुई लाख ७८ हजार रुपैयाँको लागत सहयोगमा निर्माण हुने बताइएको छ।
उक्त बजेट पनि विनियोजन भइसकेकको छ। बजेट विनियोजनसँगै उक्त पार्क निर्माणका लागि निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधान र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीबीच सम्झौता पत्रमा हस्तान्तरण गरिएको पुडासैनीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।