काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ। वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङले चौदण्डीगढी नगरपालिकालाई फराकिलो अन्तरले हराएको हो। वालिङको जितमा मेथो इलुडी रुथले पाँच गोल गरिन्। त्यस्तै, टोउटा ओरानेला इभानिक नोलले दुई गोल थपिन्। चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काएकी थिइन्।
खेलको २५औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ३२औं मिनेटमा अञ्जनाले गोल गर्दै चौदण्डीगढीलाई १–१ गोलको बराबरी दिलाएकी थिइन्। ३३औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई २–१ गोलको अग्रता दिलाइन्। ४४औं मिनेटमा अर्को गोल गर्दै रुथले ह्याट्रिक पूरा गरिन्। योसँगै वालिङले पहिलो हाफसम्म ३–१ गोलको अग्रता बनाएको थियो।
त्यसपछि खेलको ४८ र ५५औं मिनेटमा गोल गर्दै रुथले वालिङलाई ५–१ गोलको अग्रता दिलाइन्। त्यसपछि ७१ र ७२औं मिनेटमा नोलले गोल गर्दै वालिङलाई चौदण्डीगढीविरुद्ध ७–१ गोलको फराकिलो अग्रता दिलाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।