काठमाडौं– म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई पराजित गर्दै एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
सिटीले घरेलु टिम स्वान्सी सिटीविरुद्ध ३–१ को जित निकाल्ने क्रममा सिटीले कीर्तिमान नै कायम गर्यो। सिटीले सबै प्रतियोगितामा गरी लगातार १५ औं खेलमा जित निकाल्दै कीर्तिमान कायम गरेको हो। यसअघि १४ औं पटकसम्म लगातार खेल जितेको कीर्तिमान थियो।
सिटीको जितमा कायल वाल्कर, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले गोल गरे। यता, स्वान्सीका लागि मोर्गनले गोल फर्काए। खेलको ३० औं मिनेटमा नै वाल्करले गोल गर्दै सिटीलाई अग्रता दिलाए। खेलको ४७ औं मिनेटमा सिटीका रहिम स्टर्लिङले गोल गर्दै २–० को अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै गाब्रियलले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा मोर्गनले गोल गर्दै स्वान्सीलाई ३–१ को अवस्थामा पुर्याए। तर बाँकी समयमा सिटीले अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
त्यस्तै, लेस्टर सिटी पनि एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। लेस्टरले ब्राइटनलाई १–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।