काठमाडौं- एक व्यक्तिले १ किलो सुन भनेर ५५ लाख रूपैयाँमा किनेको धातु सुन नभइ फलाम भएको पाइएको छ। सुन भनेर ठग्ने उद्देश्यले पहेँलो जलप समेत लगाएर उक्त धाुत ५५ लाखमा बेचेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने काभ्रे भुम्लु गाउँपालिका-५ घर भएका ३२ वर्षीय सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका–५ शान्तिटोल बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका–१ नुजेत घर भएका ४५ वर्षीय ऋषमान घले, किसपाङ गाउँपालिका–१ घर भएका जित भन्ने ३५ वर्षीय मेख तामाङ, किसपाङ्ग गाउँपालिका–१ घर भएका चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि–१ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेका छन्।
यही माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेँलो धातु सक्कली सुन हो भन्दै ताहचल बस्ने एक व्यक्तिबाट ५५ लाख रूपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ गरिएकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।