काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई ८-० ले हराएको खेलमा दोहोरो ह्याट्रिक गरेकी सावित्रा भण्डारीले आठ खेलमा ३८ गोल बनाएकी छिन्।
पहिलो खेलमा सावित्राले चन्द्रपुर नगरपालिकाविरुद्ध नै ह्याट्रिक गोल गरेकी थिइन्। जसमा एपिएफले चन्द्रपुरलाई ६-० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै, एपिएफले आफ्नो दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोलअन्तरले हराउँदा पनि सावित्राले ह्याट्रिक गोल गरेकी थिइन्। विराटनगरविरुद्ध सावित्राले ह्याट्रिकसहित चार गोल गरेकी थिइन्।
तेस्रो खेलमा आर्मीलाई एपिएफले २-० ले हराउँदा भने सावित्रा गोलविहीन बनिन्। तर, त्यो दुवै गोल सावित्राको पासमा भएको थियो।
चौथो खेलमा एपिएफले पुलिसलाई ३-० ले हराउँदा पनि सावित्राले ह्याट्रिक पूरा गरेकी थिइन्। उनकै तीन गोलमा पुलिसविरुद्ध एपिएफले सहज जित निकालेको थियो।
पाँचौं खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई एपिएफले ३-० गोलअन्तरले हराउँदा सावित्राले दुई गोल गरेकी थिइन्। छैटौं खेलमा चौदण्डीगढीविरुद्ध २२-० को जित निकाल्दा सावित्राले १२ गोल गरेकी थिइन्।
सातौँ खेलमा चौदण्डीगढी नगरपालिकालाई १४-० ले हराउँदा सावित्रा एक्लैले आठ गोल गरेकी थिइन्। आठौँ खेलमा चन्द्रपुरविरुद्धको जितसँगै लिगमा एपिएफले दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग पाँच अंकको अग्रता बनाएको छ। जहाँ एपिएफ एक मात्र टिम हो जसले प्रतियोगितामा एक गोल पनि खाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।