काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई ८-० ले हराएको छ। चन्द्रपुरविरुद्धको जितसँगै एपिएफले लगातार आठ खेल जितेको छ।
एपिएफको जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक हानिन्। सावित्राले खेलको छैठौँ, ३२औँ, ४७औँ, ६०औँ, ६२औँ र ७९औँ मिनेटमा गोल गरेकी हुन्। अनिता बस्नेतले दुई गोल गरिन्। खेलको पहिलो मिनेटमै गोल गरेकी उनले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्।
चन्द्रपुरले एपिएफविरुद्ध एउटै प्रहार पनि राम्ररी गर्न सकेन। खेलको प्राय समय चन्द्रपुरका खेलाडी आफ्नै क्षेत्रमा मात्र रक्षात्मक बन्नुपरेको थियो। जहाँ एपिएफ एक मात्र टिम हो जसले प्रतियोगितामा एक गोल पनि खाएको छैन। आठ खेलमा ६ अंक बनाएको चन्द्रपुर अंक तालिकामा छैठौँ स्थानमा नै रहेको छ।

चन्द्रपुरविरुद्धको जितसँगै लिगमा एपिएफले दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग पाँच अंकको अग्रता बनाएको छ। एपिएफकी प्रशिक्षक भगवती थापाले पहिलो हाफ आफूहरुले सोचेजस्तो नभएको भए पनि दोस्रो हाफ राम्रो खेलेको प्रतिक्रिया दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।