काठमाडौं- इन्टर मिलानलाई समग्रमा २–१ गोलअन्तरले हराउँदै युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब युभेन्टसले १४औं पटकको उपाधि जित्नका लागि एटलान्टा र नापोलीबीचको विजेतासँग खेल्ने छ।
कोपा इटालियाको सेमिफाइनलमा इन्टर मिलानविरुद्धको दोस्रो लेगमा घरेलु टिम युभेन्टसले गोलरहित बराबरी खेल्दा पहिलो लेग र दोस्रो लेग गरी समग्रमा २–१ को जित निकाल्यो। यसअघि इन्टर मिलानको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टसले २–१ गोलको जित निकालेको थियो। युभेन्टसको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए।
रक्षात्मक रणनीति अपनाएको युभेन्टसविरुद्ध इन्टर मिलानले गोल गर्ने एकपछि अर्को प्रयास गरेपनि सफल भएन। अर्को सेमिफाइनलको दोस्रो लेगमा एटलान्टाले आफ्नै मैदानमा नापोलीसँग बुधबार राति प्रतिस्पर्धा गर्दैछ।
यसअघि नापोलीको मैदानमा भएको पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। यी दुई टिमबीचको विजेताले फाइनलमा उपाधिका लागि युभेन्टसको सामना गर्नेछ। कोपा इटालियाको फाइनल मे १९ मा हुनेछ।
यसअघि २०२० मा भएको संस्करणको कोपा इटालिया फुटबलमा फाइनलमा युभेन्टस नापोलीसँग पराजित भएको थियो। पेनाल्टीमा पुगेको फाइनलमा नापोलीसँग ४–२ ले स्तब्ध हुँदा युभेन्टसले १४औं पटक उपाधि जित्न चुकेको थियो।
अहिलेसम्म कोपा इटालियाको उपाधि युभेन्टसले सर्वाधिक १३ पटक जितेको छ। सन् १९३८ बाट जित्न थालेको युभेन्टसले पछिल्लो पटक सन् २०१५, २०१६, २०१७ र २०१८ गरी लगातार चार पटक उपाधि जितेको थियो। त्यस्तै, रोमाले ९, इन्टर मिलान र लाजियोले समान ७–७ पटक उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।