फाइल तस्बिर।
काठमाडौं- महिलामाथि भइरहेका सबै किसिमका हिंसा, हत्या र दण्डहीनताको समुल अन्त्यका लागि सिंहदरबार महिला मार्च हुने भएको छ। बृहत् नागरिक आन्दोलनको आयोजनामा शुक्रबार दिउँसो २ बजे मार्च हुने भएको हो।
'हामी सडकबाट चुनौती दिन्छौं- एकपछि अर्को बलात्कारलाई मुकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन', बृहत् नागरिक आन्दोलनका तर्फबाट ९ जना महिला अभियन्ताद्वारा जारी अपिलमा भनिएको छ।
मैना सुनारदेखि निर्मला पन्तसम्म, अंगरा पासीदेखि भागरथी भट्टसम्म- यो सिलसिला सधैंका लागि बन्द हनुपर्ने माग गरिएको छ। 'सबै पीडितले न्याय पाउनुपर्छ। पुरुषप्रधान कानून र सत्ताको आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन। हाम्रा घर, संविधान, कानुन, संस्था सबै बदलिनुपर्छ', अपिलमा भनिएको छ।
शुक्रबार वसन्तपुरमा भेला भएर वसन्तपुर-न्युरोड-रत्नपार्क-भद्रकाली-सिंहदरबार मुलगेटसम्म मार्च गरिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।