काठमाडौं- साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा रियलले गेटाफेलाई २-० गोलले पराजित गरेको हो।
घरेलु टिम रियलको जितमा करिम बेन्जिमा र फेर्लान्ड मेन्डीले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा पहिलो गोल गरेको ६ मिनेटभित्र अर्को गोल गर्दै जित निकालेको हो।
खेलको ६० औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई १-० को अग्रता दिलाए। त्यसको ६ मिनेटपछि नै रियलले अर्को गोल थप्न सफल भयो।
रियलका लागि फेर्लान्ड मेन्डीले गोल गर्दै रियललाई २-० को अग्रतामा पुर्याए। ६९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको रियलले बाँकी समयमा अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
यो जितसँगै रियल बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। २२ खेलबाट ४६ अंक बनाउँदै रियल लिगको दोस्रो स्थानमा छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको भने २१ खेलबाट ४३ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।