काठमाडौं- विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। मंगलबार भएको खेलमा पुलिसले मोरङको विराटनगर महानगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले विराटनगरलाई सहज रूपमा पराजित गरेको हो। यसअघि पहिलो खेलमा विराटनगरले पुलिसलाई १-० गोलले पराजित गरेको थियो। त्यो हारको बदला पनि पुलिसले लिएको छ। पुलिसको जितमा निरु थापाले दुई गोल गर्दा निर्मला उपाध्यायले एक गोल थपिन्।
खेलको ४१औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। उनकै गोलमा विराटनगरविरुद्ध पुलिसले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो।
खेलको ५७औं मिनेटमा निरुले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाइन्। त्यसको तीन मिनेटपछि नै निरुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-० को जित दिलाइन्।
पुलिसविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको विराटनगरले दोस्रो राउन्डको खेलमा भने दबाबमा खेल्दै हार व्यहोरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।