काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को कारण स्थगित भएको शहिद स्मारक बी डिभिजन लिगको बाँकी रहेको खेल तालिका सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बी डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको हो। अब नयाँ खेलतालिकाअनुसार फागुन ११ गते दुई खेल हुँदैछन्। पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले नयाँबस्ती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले खुमलटार युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ।
त्यस्तै, फागुन १२ गते पनि दुई खेल हुँदै छन्। पहिलो खेलमा बाँसबारी क्लबले टुसाल क्लबसँग खेल्दा दोस्रो खेलमा श्री कुमारी क्लबले श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
गत चैतमा लिग चलिरहेकै बेला कोरोनाको महामारी आएपछि लिग स्थगित भएको थियो।
बी डिभिजन लिगमा १२ क्लब छन्। जसमा ब्वाइज युनियन, श्री भगवती, टुसाल, खुमलटार युथ, नयाँबस्ती युवा, झम्सिखेल युथ, रानी पोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्ट्स, बाँसबारी र श्री कुमारी क्लब रहेका छन्।
सातदोबाटो युथ क्लब ६ खेलबाट १६ अंक बनाएर लिगको शीर्ष स्थानमा छ। खुमलटार युथ क्लबको ५ खेलमा १३ अंक र बाँसबारी क्लबको ५ खेलमा ११ अंक छ। नयाँबस्ती, ब्वाइज युनियन र टुसालको समान ८ अंक रहेको छ। लिगमा आरसिटी र झम्सीखेलको समान ६–६, श्री भगवती ५, श्री कुमारी ३, पुल्चोक १ र मध्यपुर युथ १ अंक छ।
गएको वर्ष कुनै पनि क्लबको रेलिगेसन पनि नहुने र माथिल्लो डिभिजनमा पनि नपुग्ने नियममा गरिएको लिगमा बाँसबारी र नयाँबस्ती पुछारमा रहेकाले अहिले १–१ अंक घटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।