काठमाडौं- करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले झापाबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा महाशाखाको टोलीले अर्जुनधारा नगरपालिका–९ का ३० वर्षीय पंकज पौडेलीलाई पक्राउ गरेको हो। सोमबार बिर्तामोडबाट पक्राउ परेका पौडेलीलाई काठमाडौं ल्याएर महाशाखाले अनुसन्धान गर्दा २ करोड रुपैयाँ ठगी गरेको पाइएको हो।
उनको ठगीको माध्यम भने नक्कली परिचय र सामाजिक सञ्जाल हो। सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमोलगायतबाट विभिन्न व्यक्तिहरुलाई पौडेलीले फ्रेण्ड रिक्वस्ट पठाउँथे। साथी बनिसकेपछि पौडेलीले आफू कोरियन, सिंगापुर, लण्डनको नागरिक भएको परिचय दिन्थे। त्यसपछि विश्वासमा पारी विभिन्न गिफ्टहरू पठाइदिने भन्दै त्यसका लागि भन्सार बापतको रकम पठाउन लगाएर २ करोड ९५ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।
नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवम् गिफ्ट पठाएको, रोजगारीको लागि भिसा लगाइदिने भनी नक्कली भिसासमेत पठाएर विश्वासमा पार्ने गरेका थिए। उक्त गिफ्टका सामानहरु लिन भन्सारबापतको रकम लाग्ने भन्दै विभिन्न व्यक्तिको नाममा रकमसमेत पठाउन लगाउँथे। यसरी उनले २६ लाख ८० हजार २ सय ७१ रुपैयाँ ठगी गरेको भन्दै महाशाखामा उजुरी परेको थियो।
प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गर्दा उनको मोबाइलबाट १ करोड ९५ लाख १२ हजार ३ सय ५२ रुपैयाँ विभिन्न व्यक्तिहरुबाट लिइएको देखिएको महाशाखाले जनाएको छ।
प्रहरीले उनको साथबाट १३ लाख ९५ हजार २ सय १५ रुपैयाँ नगद, २ थान मोबाइल, विभिन्न व्यक्तिको नाममा रहेको लाइसेन्सको फोटोकपी, सवारी दर्ता किताबलगायत बरामद गरेको छ। उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।