काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। मंगलबार भएको खेलमा आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई २–० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीकी शर्मिला थापाले एक गोल गरिन्। वालिङले आत्मघाती गोल गरेपछि आर्मीले एक गोल भने उपाहार स्वरुप पाएको थियो। खेलको पहिलो मिनेटमा नै शर्मिला थापाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
खेलको ४३ औं मिनेटमा वालिङकी पुष्पा गुरुङले आत्मघाति गोल गर्दा आर्मीले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो।
पहिलो हाफसम्म २ गोलले पछि परेको वालिङले आर्मीविरुद्ध गोल फर्काउन सकेन।
जितपछि मुख्य प्रशिक्षक राजु तामाङले कडा प्रतिद्धन्दी टिमविरुद्धको जितमा आफू खुशी भएको बताए। उनले भने, ‘कडा प्रतिद्वन्दी वालिङविरुद्धको जितमा खुशी छु। हाम्रा डिफेन्डरले आज वालिङका स्ट्राइकरलाई रोक्दै निकै राम्रो प्रदर्शन गरेका छन्। पहिलो मिनेटमा नै गोल हुनु हाम्रो जितको आधार बन्यो।’
वालिङका प्रशिक्षक दिलिप थापाले पहिलो मिनेटमा नै खाएको गोलले टिम दबाबमा आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।