काठमाडौं- विभागीय टिम एपिएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० गोलले हराएको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले फराकिलो अन्तरले हराएको हो। यसअघि पहिलो लेग खेलमा एपिएफले चौदण्डीगढीलाई २२–० गोलले हराएको थियो।
चौदण्डीगढीविरुद्धको दोस्रो खेलमा पनि सावित्रा भण्डारीले सर्वाधिक आठ गोल गरिन्। त्यस्तै, कप्तान अनिता बस्नेत र अनिता केसीले समान २–२ गोल गर्दा अनु लामा र रविना गोलेले १–१ गोल गरे।
सावित्राले खेलको चौंथो, १८ र ३६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यस्तै, ४३, ५३ र ५६औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको ७२ र ८७औं मिनेटमा थप दुई गोल गरेकी थिइन्।
अनिता केसीले खेलको २४ र ४०औं मिनेटमा गोल गर्दा कप्तान अनिता बस्नेतले पहिलो हाफको अतिरिक्त समय र ६४औं मिनेटमा गोल गरेकी थिइन्। यता अनु लामाले ७६औं मिनेटमा गोल गर्दा रविनाले ७९औं मिनेटमा गोल गरिन्।
यसअघि पहिलो खेलमा सावित्राले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ह्याट्रिक गोल गरेकी थिइन्। त्यो खेलमा एपिएफले चन्द्रपुरलाई ६–० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै, एपिएफले आफ्नो दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले हराउँदा पनि सावित्राले ह्याट्रिक गोल गरेकी थिइन्।
विराटनगरविरुद्ध सावित्राले ह्याट्रिकसहित चार गोल गरेकी थिइन्। तेस्रो खेलमा आर्मीलाई एपिएफले २–० गोलले हराउँदा भने सावित्रा गोलविहीन बनिन्। तर, त्यो दुवै गोल सावित्राको एसिस्टमा भएको थियो।
चौंथो खेलमा एपिएफले पुलिसलाई ३–० गोलले हराउँदा पनि सावित्राले ह्याट्रिक पूरा गरेकी थिइन्। उनकै तीन गोलमा पुलिसविरुद्ध एपिएफले सहज जित निकालेको थियो। पाँचौं खेलमा भने स्याङ्जाको वालिङ नगरपालिकालाई एपिएफले ३–० गोलअन्तरले हराउँदा सावित्राले दुई गोल गरेकी थिइन्। छैटौं खेलमा चौदण्डीगढीविरुद्ध २२–० को जित निकाल्दा सावित्राले १२ गोल गरेकी थिइन्।
सावित्रा जारी महिला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले सात खेलबाट ३२ गोल गरिसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।