काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पछिल्लो खेलमा लगातार तेस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
शेफिल्डविरुद्धको जितमा चेल्सीका मासन माउन्ट र जर्जिन्होले गोल गरे। शेफिल्डले एक गोल भने उपहार स्वरुप पाएको थियो। खेलको ४३ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको चेल्सीले खेलको ५४ औं मिनेटमा भने आत्मघाति गोल गर्न पुग्यो।
एन्टोनियो रुडिगरले आत्मघाति गोल गरेसँगै शेफिल्डले चेल्सीविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो। तर खेलको ५८ औं मिनेटमा पेनाल्टीबाट जर्जिन्होले गोल गरेपछि भने चेल्सीले २–१ गोलको जित निकालेको हो।
थोमस टचेल मुख्य प्रशिक्षकमा नियुक्त भएपछि चेल्सीले यो लगातार तेस्रो जित निकालेको हो। टचेल आएपछि पहिलो खेलमा चेल्सीले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो। तर त्यसपछि भने बर्नलीलाई २–०, टोटेनहमलाई १–० र शेफिल्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
प्रिमियर लिगमै भएका अन्य खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई २–० ले पराजित गर्दा लेस्टर सिटीले भने वुल्भ्ससँग गोलरहित बराबरी खेलेको छ।
जितसँगै चेल्सी लिगको पाँचौ स्थानमा उक्लिएको छ। चेल्सीको २३ खेलबाट ३९ अंक छ। पराजित शेफिल्डको भने २३ खेलबाट ११ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।