काठमाडौं- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुललाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
आफ्नै घरेलु मैदान एन्फिल्डमा सिटीविरुद्ध लिभरपुलले लज्जास्पद हार व्यहोरेको हो। लिभरपुलले आफ्नो मैदानमा लगातार तीन खेलमा हार व्यहोरेको छ।
यसअघि एन्फिल्डमै भएको खेलमा बर्नलीसँग १–० र ब्राइटनसँग १–० गोलले नै लिभरपुल हारेको थियो। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा लगातार तीन खेल हारेको यो पहिलो पटक हो।
सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गर्दा रहिम स्टर्लिङ र फिल फोडेनले गोल गरे। लिभरपुलका लागि मोहम्मद सलाहले गोल फर्काएका थिए।
खेलको ३६ औं मिनेटमा रहिम स्टर्लिङलाई फाविन्होले डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। तर गुन्डगनले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन।
खेलको ४९ औं मिनेटमा गुन्डगनले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाए। तर खेलको ६३ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए। डिबक्सभित्र रुबेन डियासले सलाहलाई लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो।
गोलकिपर एलिसन बेकरको ठूलो गल्तिको कारण लिभरपुलले दोस्रो र तेस्रो गोल खान पुग्यो। खेलको ७३ औं मिनेटमा गुन्डगनले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए। ७६ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ गोलको अग्रता दिलाए। ८३ औं मिनेटमा फोडेनले गोल गरेपछि सिटीले लिभरपुलविरुद्ध ४–१ गोलको फराकिलो जित निकालेको हो।
लिगको शीर्ष स्थानमा रहेको सिटीको लागि यो जितसँगै उपाधि यात्रा केही सहज भएको छ। सिटीले २२ खेलबाट ५० अंक बनाएको छ। पराजित लिभरपुलको भने २३ खेलबाट ४० अंक छ। जितपछि सिटीले चौथो स्थानको लिभरपुलसँग १० अंकको अग्रता बनाएको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ५ अंकको अग्रता बनाएको छ। युनाइटेडको २३ खेलबाट ४५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।