काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले बैतडी दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यामा संलग्न दोषी पत्ता लगाइ कानूनी दायरामा ल्याउन आग्रह गरेको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत दिन सरकारसँग आग्रह गरेका छन्। त्यस्तै, घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न पनि आयोगले भनेको छ।
घटनाको अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन आयोगले आग्रह गरेको छ। आयोगले आफ्नो तर्फबाट पनि अनुमगनका लागि घटनास्थलमा टोली खटाएको छ। आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ।
आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटना अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ। बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार विभत्स अवस्थामा लबलेक जंगलमा फेला परेको थियो। प्रारम्भिक रुपमा प्रहरीले बलत्कारपछि हत्या भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।