काठमाडौं– डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा युभेन्टसले रोमालाई २–० गोलले पराजित गरेको हो।
घरेलु टिम युभेन्टसको जितमा क्रिस्टियानो रानाल्डोले एक गोल गरे। एक गोल भने रोमाका खेलाडीले आत्मघाति गोल गरेपछि युभेन्टसले उपाहार स्वरुप पाएको थियो। खेलको १३ औं मिनेटमा अल्भारो मोरटाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए। यो गोलसँगै रोनाल्डोले जारी सिजनमा २३ गोल गरेका छन्।
पहिलो हाफमा एक गोलले पछि परेको रोमाले दोस्रो हाफमा आत्मघाती गोल खाँदै हारेको हो। खेलको ६९ औं मिनेटमा बनेज डे सिल्भाले आत्माघाती गोल गरेपछि युभेन्टसले रोमालाई २–० गोलले हराएको हो।
शनिबार राति नै भएका अन्य खेलमा स्पेजियाले सासुओलोलाई २–१ गोलले हराउँदा जिनोयासँग नापोली २–१ गोलले नै हारेको छ। एटलान्टा र टोरिनोले भने ३–३ गोलको बराबरी खेलेका छन्।
यो जितसँगै युभेन्टसले भने लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको अंक दूरी घटाएको छ। २० खेलबाट ४२ अंक बनाउँदै युभेन्टस लिगको तेस्रो स्थानमा उक्लिएको छ। २१ खेलबाट ४० अंक बनाएको रोमा भने लिगको चौथो स्थानमा झरेको छ। लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानको २१ खेलबाट ४७ अंक हुँदा दोस्रो स्थानको एसी मिलानको २० खेलबाट ४६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।