काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा रियलले हुएस्कालाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम हुएस्काविरुद्ध रियलको जितमा दुबै गोल राफेयल भरानले गरे। यता, हुएस्काका लागि जाभी गलानले गोल गरे। पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। खेलको ४८ औं मिनेटमा जाभीले गोल गर्दै हुएस्कालाई अग्रता दिलाए। तर यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको ५४ औं मिनेटमा भरानले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा पुर्याए। खेलको ८४ औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले हुएस्काविरुद्ध २–१ गोलको जित निकालेको हो।
ला लिगा मै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई ३–० गोलअन्तरले पराजित गर्दा लेभान्टे र ग्रानाडा तथा इल्चे र भिल्लारियलले समान २–२ गोलको बराबरी खेलेका छन्।
जितसँगै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियलले २१ खेलबाट ४३ अंक बनाएको छ। गेटाफेलाई हराएको सेभिया पनि २१ खेलबाट ४२ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक छ। चौथो स्थानमा रहेको बार्सिलोनाको भने २० खेलबाट ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।