शनिबार काठमाडाैं उपत्यकामा पानी परेपछि छाता ओढेर गन्तव्यतर्फ लागेकाहरू। तस्बिर : निमेषजंग राई।
काठमाडौं- आज देशका केही भूभागमा हल्का वर्षा भएपनि भोलि मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भोलि, आइतबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सफा रहनेछ।
भोलि राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम रहने विभागले जनाएको छ।
आज भने प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ। देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात भएको विभागले जनाएको छ।
विभागका अनुसार आज राति प्रदेश १, २ र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।