म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा परेको हिमपात। वर्षासँगै म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ। तस्बिर:रासस।
बागलुङ- बागलुङमा हिमपात र वर्षा भएको छ। जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको छ। हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन्।
शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ। ढोरपाटन उपत्यकामा शुक्रबार हिउँपरेको स्थानीय कमल भण्डारीले बताए।
उनले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने बताए। हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताए।
ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ। हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन्।
लामो समय पानी नपर्दा कृषक निराश भएका किसान भने खुशी भएका छन्। मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान रामबहादुर खड्काले विश्वास व्यक्त गरे।
हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ। ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।