म्याड्रिड- स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लागेको छ। सिजनको ला लिगामा अपराजित रहँदै यसअघि नै उपाधि जितिसकेको बार्सिलोनालाई लेभान्तेले आइतबार राति ५-४ गोलले पराजित गरेको हो।
अघिल्लो सिजनदेखिको लगातार ४३ खेलमा अपराजित बार्सिलोना ४४ औं खेलमा पराजित भएको हो। योसँगै बार्सिलोनाका प्रशिक्षक भाल्भार्डेले ला लिगामा पहिलो पराजय भोगेका छन्।
खेलमा १५औं स्थानको लेभान्तेले ५६ मिनेटको खेल सकिदा ५-१ गोलको अग्रता लिएको थियो। लेभान्तेका लागि इम्यान्युएल बोएटिङले ह्याट्रिक गरे। उनले खेलको ९, ३० र ४९ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन्। यस्तै इनिस बर्धीले खेलको ४६ र ५६ मिनेटमा गरी २ गोल गरेका थिए।
लेभान्तेले ५ गोल गर्दा बार्सिलोनाका लागि काउटिन्होले ३८ मिनेटमा गोल गरेका थिए। उनै काउटिन्होले ५९ र ६४ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे। ७१ मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनाका लागि चौथो गोल गरेका थिए।
पराजयसँगै बार्सिलोनाको सिजनमा अपराजित रहँदै उपाधि उचाल्ने अभियान पूरा हुन सकेन। अन्तिम खेलअघि पराजित भएको बार्सिलोनाले ३७ खेलबाट ९० अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७८ र तेस्रो स्थानको रियल म्याड्रिडको ७५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।