काठमाडौं- नेदरल्यान्डसको फुटबल क्लब आयाक्सका गोलकिपर एन्ड्रे ओनाना एक वर्षको प्रतिबन्धमा परेका छन्। डोपिङ टेस्टमा उनले प्रतिबन्धित औषधी सेवन गरेको पाइएपछि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले फुटबलका सबै गतिविधिमा संलग्न हुन नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको हो।
२०२० को अक्टोवरमा उनको पिसाब परीक्षण गर्दाको नतिजाका आधारमा अहिले उनीमाथि प्रतिबन्ध लागेको हो। आयाक्सले क्यामरुनका खेलाडी ओनानामाथि लागेको प्रतिबन्धको विषयमा गल्तीले उनले श्रीमतीको औषधी खाँदा खेलअघि प्रतिबन्धित हुने औषधी पर्न गएको जनाएको छ।
‘२०२० को अक्टोवर ३० मा ओनानाले अस्वस्थ महसुस गरेका थिए। त्यही अप्ठ्यारोमा सजिलो पार्न उनले एक चक्की औषधी खाएका हुन्। उनको श्रीमतीले प्रयोग गरिरहेको औषधी गल्तीले खान पुग्दा यस्तो भएको हो, गलत काम गर्ने उनको मनसाय होइन’, आयाक्सले विज्ञप्तीमार्फत उल्लेख गरेको छ।

यसैले आफूहरुले उनीमाथिको प्रतिबन्ध १२ महिनाभन्दा कम हुन सक्ने विषयमा पहल गर्ने आयाक्सले उल्लेख गरेको छ। प्रतिबन्धको समय ओनानाले आयाक्स क्लबका साथै राष्ट्रिय टिमका सबै खेलहरु गुमाउने छन्। जसमा अफ्रिका कप आफ नेसन्स उनका लागि महत्वपूर्ण हुने थियो।
ओनानामाथि यो निर्णय अघिसम्म युरोपका मुख्य क्लबहरुले नजर लगाइरहेका थिए। उनलाई लैजान बोरुसिया डोर्टमुन्ड, चेल्सी, टोटनह्याम र उनको पूर्वक्लब बार्सिलोनाले समेत कुराकानी गरिरहेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।