काठमाडौं- राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा हुने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेनाले चलाएको ‘अपरेसन महाहन्ट’ अन्तर्गत ९ जनालाई हतियारसहित पक्राउ गरेको छ।
बाँके राष्ट्रिय निकुञ्जमा हुने चोरी सिकारी रोक्न त्यस आसपासका क्षेत्रमा गरिएको सर्च अपरेसन अन्तर्गत हतियारसहित ९ जनालाई पक्राउ गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
गत बुधबार सल्यानको कालिमाटी गाउँपालिका–३ का ५९ वर्षीय भीमबहादुर खनाललाई सुरुमा सेनाले पक्राउ गरेको थियो। खनालसँगको सोधपुछबाटै सेनाले अन्य ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा खनालसँगै ५० वर्षीय रत्न थापामगर, सोही ठाउँका ५२ वर्षीय कृष्णबहादुर थापा, ५१ वर्षीय सोमबहादुर खत्री, ३२ वर्षीय टेकबहादुर कुवँर, २९ वर्षीय कुमार थापा, २२ वर्षीय धनबहादुर थापा, २६ वर्षीय देवबहादुर थापा र ३९ वर्षीय तिलक डाँगी छन्। उनीहरू सबै कालिमाटी–२ का बासिन्दा भएको सेनाले जनाएको छ।
उनीहरूले गोठ तथा झाडीमा लुकाएर राखेको ६ थान भरुवा बन्दुक पनि सेनाले बरामद गरेको छ। ‘अपरेसन महाहन्ट’ अन्तर्गत भइरहेका कारबाहीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरूको सुरक्षा थप प्रभावकारी हुने सेनाको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।