काठमाडौं– बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
बार्सिलोनाले थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ५–३ को जित निकालेको हो। बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र जोर्डी अल्बाले समान २–२ गोल गरे। त्यस्तै, फ्रेन्की डे जोङले एक गोल थपे। यता, ग्रानाडाका लागि केनेडी, रोबेर्टो सोल्डाडो र फेडे भिकोले समान १–१ गोल गरे।
ग्रानाडाले बनाएको दुई गोलको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो। खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै ग्रानाडालाई १–० को अग्रता दिलाए।
खेलको ४७ औं मिनेटमा रोबेर्टो सोल्डाले गोल गर्दा ग्रानाडाले २–० को अग्रता बनाएको थियो। खेलको ८८ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा पुर्याए। खेलको इन्जुरी समयमा अल्बाले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए। निर्धारित समयसम्म २–२ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो।
खेलको १०० औं मिनेटमा ग्रिजम्यानले नै गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए। तर खेलको १०३ औं मिनेटमा फेडे भिकोले पेनाल्टीबाट गोल गर्दै ग्रानाडालाई ३–३ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको १०८ औं मिनेटमा डि जोङ र ११३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ५–३ को जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।