काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम बर्नलीविरुद्ध सिटीका गाब्रियल जेसुस र रहिम स्टर्लिङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै गाब्रियलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। खेलको ३८ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–० को अग्रता दिलाए।
पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि अग्रतालाई कायमै गर्दै जित निकालेको हो। खेल अवधिभर बर्नलीविरुद्ध सिटीले दबाब दिएर खेलेको थियो। बर्नलीको पोष्टमा सिटीले १३ पटक प्रहार गर्दा बर्नलीले दुई पटक मात्रै सिटीको पोष्टमा प्रहार गरेको थियो।
त्यस्तै, प्रिमियर लिगमै भएको अर्को खेलमा एभर्टनले लिड्स युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको छ। एभर्टनका लागि खेलको नवौं मिनेटमा गिल्फी सिगुर्डसनले गोल गर्दै १–० को अग्रता दिलाए। डोमिनिक काल्र्भट लेविनले खेलको ४१ औं मिनेटमा गोल गर्दा एभर्टनले पहिलो हाफसम्म २–० को अग्रता बनाएको थियो। खेलको ४८ औं मिनेटमा रफिन्हाले गोल गर्दै लिड्सलाई २–१ को स्थितिमा पुर्याएपनि हारबाट जोगाउन सकेनन्।
जितसँगै म्यानचेस्टर सिटीले २१ खेलबाट ४७ अंक बनाएको छ। पराजित बर्नलीको भने २१ खेलबाट २२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।