काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ। लिभरपुल ब्राइटनसँग १–० ले स्तब्ध बनेको हो।
घरेलु मैदानमा ब्राइटनसँग लिभरपुलले महत्वपूर्ण तीन अंक गुमाएको हो। ब्राइटनको जितमा स्टेभन अल्जाटले गोल गरे। ६४ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखेपनि लिभरपुलल खेल जित्न सकेन। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल खाँदै हारेको हो।
खेलको ५६ औं मिनेटमा स्टेभन अल्जाटले गोल गर्दै लिभरपुलविरुद्ध ब्राइटनलाई १–० को जित दिलाए। त्यस्तै, लेस्टर सिटीले फुलहामलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। अर्को खेलमा भने वेष्ट हामले एस्टन भिल्लालाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
हारसँगै लिभरपुल चौथो स्थानमा झरेको छ। लिभरपुलको २२ खेलबाट ४० अंक छ। लिभरपुललाई हराएको ब्राइटनको २२ खेलबाट २४ अंक भएको छ।
फुलहामलाई हराएको लेस्टर सिटी भने अंक तालिकामा लिभरपुललाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। लेस्टरको २२ खेलबाट ४२ अंक भएको छ। पराजित फुलहामको २१ खेलबाट १४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।