काठमाडौं- विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएको छ। मोरङको विराटनगरले पुलिसलाई १–० गोलले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसविरुद्ध विराटनगरकी पार्वती घलेले गोल गरिन्। उनकै एक गोलमा विराटनगरले पुलिसलाई स्तब्ध बनाएको हो।
खेलको नवौं मिनेटमा नै पार्वतीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। उनकै गोलमा पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको विराटनगरले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
यो जितसँगै विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ। विराटनगरले ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ। विराटनगरसँग हारेको पुलिसको भने ६ खेलमध्ये दुईमा जित, दुई खेलमा बराबरी र दुई खेलमा हार ब्यहोर्दै आठ अंक छ।
विराटनगर र पुलिसबीचको खेल सकिएसँगै लिगको पहिलो चरणका खेलहरू सकिएका छन्। अहिलेसम्म ६ खेलमा शतप्रतिशत नजिता निकाल्दै १८ अंक बनाएको एपिएफ लिगको शीर्ष स्थानमा छ।
६ खेलमध्ये चार खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेलेको त्रिभुवन आर्मी क्लबको १३ अंक छ। तेस्रो स्थानमा विराटनगर रहँदा चौंथो स्थानको नेपाल पुलिस क्लब र पाँचौ स्थानको वालिङ नगरपालिकाको समान ८–८ अंक छ। रौतहटको चन्द्रपुरको तीन अंक रहँदा लिगको पुछारमा रहेको उदयपुरको चौदण्डीगढी नगरपालिका भने अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।